नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हरेक प्रतिबद्धता सबाट सुरु भएको छ । समावेशी प्यानलले १८ साउनमा उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । समावेशी प्यानल टंकबहादुर धामीको नेतृत्वमा प्यानल बनाएर चुनावी अभियानमा छ ।
समावेशी प्यानलका प्रतिबद्धताको पूर्ण पाठ यस्तो छ :
‘‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान !
समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान !!’’
नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८० समावेशी प्यानलका प्रतिबद्धताहरु
आदरणीय उद्योगी व्यवसायी तथा बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरु
नेपालगञ्ज तराईको पहिलो सहर हो । विशेष गरी औद्योगिक उत्पादनका लागि नेपालगञ्ज नै प्रमुख बजार हो । विगतमा पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी÷उपभोक्ताले स्थानीय उत्पादन नेपालगञ्जमा बिक्री गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु किनेर लैैजान्थे । बाँकेमा चामल, कथ्था मिल, सलाइ फेक्ट्री जस्ता औद्योगिक प्रतिष्ठानहरु खुले । लामो समय साबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाँके नै थियो । अहिले पनि बाँके पश्चिम नेपालको आर्थिक, बाणिज्य, कृषि, जडिबुटी, पर्यटकीय क्षेत्र, शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिमा अग्रणी नै छ । वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र पनि बाँके नै थियो ।
उद्योगी, व्यवसायीरुको हकहितका लागि छाता संस्थाको रुपमा २०२४ सालमा नेपालगञ्ज उद्योग व्यापार संघ (हाल नेपालगञ्ज उद्योग वाणिज्य संघ) स्थापना भयो । संघ स्थापनाको साढे पाँच दशक पूरा भइसकेको छ । संघले व्यवसायिक हितसँगै सामाजिक परिवर्तनका लागि निरन्तर आन्दोलनको नेतृत्व गर्दै आएको छ । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको सारथी बनेका उद्योगी व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगञ्ज उद्योग वाणिज्य संघ देशकै नमुना उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको छ । गौरवपूर्व इतिहास बनाउन सफल संघको स्थापनाकालदेखि संस्थालाई निजी क्षेत्रको आशा र भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज, उद्योगी र व्यवसायीप्रति उच्च सम्मानका साथ नमन गर्न चाहन्छौं ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भदौ २०८० मा निर्वाचन हुन गइरहेको छ । नयाँ नेतृत्व चयनको लागि विगतमा जस्तै हामी अहिले पनि एउटै समावेशी प्यानल बनाएर चुनावी अभियानमा आउन पाउँदा गर्व महसुस गरिरहेका छौं । हाम्रो एकताले व्यवसायीका बीचमा सकारात्मक भाव उत्पन्न गर्नुका साथै उद्योगी, व्यवसायी एकढिक्का हुनसक्छन् भन्ने सन्देश पनि दिएको छ । ऐतिहासिक सहर नेपालगञ्ज र व्यापारिक र औद्योगिक जिल्ला बाँकेको गरीमा कायमै राख्न राज्यलाई निरन्तर सचेत गराउने जिम्मेवारी संघले विगतदेखि निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि गर्दै जानेछ भन्ने विश्वास दिलाउन चाहन्छौं । समग्र व्यावसायिक क्षेत्रको उत्थानका लागि जिल्लाका सबै उद्योगी व्यवसायीहरु एकढिक्का हुन जरुरी छ । समृद्ध बाँके निर्माणमा सम्पूर्ण उद्योगी, व्यवसायी, बाँकेबासी दाजुभाइ र दिदीबहिनीहरु एकजुट भएर अगाडि बढ्नका लागि संकल्प लिने बेला आएको छ । उद्योगी, व्यवसायीहरुका हरेक समस्या समाधान गरी अगाडि बढ्न सक्ने अनुभवी अग्रजहरु र नयाँ पुस्ताका उर्जावान साथीहरुको समिश्रणले संघमा अझै प्र्रभावकारी भूमिका निर्वाह गर्नसक्ने सशक्त समावेशी टिम बनेको छ । विगतमा समावेशी प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले प्रतिकूल समयको बाबजुत पनि आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ । व्यवसायिक क्षेत्रका थुप्रै समस्या र चुनौतीलाई सही ढंगबाट समन्वय गरी समाधान गर्ने जुझारु, राज्यका विभिन्न निकायमा पहुँच भएका अनुभवी, कर्तव्यनिष्ठ एवं विभिन्न समुदाय र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व हुने गरी निर्माण गरिएको समावेशी प्यानलले समृद्ध बाँके निर्माणका लागि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेको छ :
सशक्त उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य क्षेत्रलाई व्यवस्थित एवं सुदृढ पार्दै व्यवसायिक क्षेत्रको विकास गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उद्योगी व्यवसायीहरुको दुःख, पीरमर्कामा मल्हम लगाउन सक्ने र आर्थिक एजेण्डामा पैरवी गर्न सक्ने एउटा सशक्त वाणिज्य संघको रुपमा विकास गरिनेछ । संघको संस्थागत विकास, उद्योगी, व्यवसायीको हकहित सुरक्षित गर्नसक्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्न तालिम, गोष्ठी, सभा, समारोह आयोजना गरिनेछ । व्यवसायिक क्षेत्रका समस्या र चुनौतीबारे अध्ययन अनुसन्धान गरी समाधानका उपायहरु खोजिनेछ । संघलार्ई प्रविधिमैत्री बनाइनेछ । उद्योग वाणिज्य संघलाई उत्पादन, बजारीकरण र समाजसँग जोड्न विभिन्न दातृ निकायसँग सहकार्य गरिनेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघ जिल्ला उद्योग वाणिज्य संघ हो । देशभरका १२३ वटा उद्योग वाणिज्य संघमध्ये उत्कृष्ट १० मा पर्छ । यो देशको ‘क’ वर्गको उद्योग वाणिज्य संघ हो । संघको जिल्लाभरी सदस्यता विस्तार गर्न पहल गरिनेछ । संघको निर्वाचनमा सबै खाले उद्योगी व्यवसायीहरु उम्मेदवार बन्नसक्ने अवस्था सिर्जना गर्न वैज्ञानिक पद्धतिको निर्वाचन प्रणालीको विकास गरिनेछ ।
स्वस्थ व्यवसायी योजना
संघका सदस्यहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गरी सम्बन्धित स्वास्थ्य संस्थाकोे समन्वयमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिनेछ । संघका सदस्यहरुका लागि योग, ध्यान, प्राणायाम र खेलकुदका गतिविधिहरु सञ्चालन गरिनेछ ।
समानान्तर संस्थालाई निरुत्साही
नेपालगञ्ज उद्योग वाणिज्य संघबाट अलग्गिएर समानान्तर संस्था खडा गर्दै संघको एकतालाई खण्डित तुल्याउने कार्यलाई निरुत्साही गरिनेछ । दोहोरो भूमिकामा कसैलाई रहन नदिने व्यवस्था गरी संघलाई जिल्ला भरका उद्योगी, व्यवसायीको आस्था र भरोसाको केन्द्र बनाइनेछ ।
सद्भावमा नेतृत्वदायी भूमिका
नेपालगञ्ज सद्भावको सहर हो । बाँकेमा सामाजिक सद्भाव कायम राख्न संघले विगतदेखि नै सामाजिक विकासका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आर्थिक मामिलामा मात्र नभएर संघले यहाँको सामाजिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक क्षेत्रको विकासका काममा पनि नेतृत्वदायी भूमिका खेल्दै आएको छ र खेल्दै जानेछ ।
सरलीकृत एकद्वार कर प्रणाली
उद्योगी व्यवसायी दोहोरो तेहोरो कर तिर्न बाध्य छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरु पनि स्थानीय तहमा दर्ता गरेर फेरि कर असुलिन्छ । त्यस्तै, बाणिज्य कार्यालयमा दर्ता भएको औद्योगिक प्रतिष्ठान पनि स्थानीय तहमा फेरि दर्ता गरेर कर तिर्नुपर्छ । स्थानीय तहबाट सिफारिस दिने र अभिलेखीकरण राख्ने मात्र गर्नुपर्छ । एउटा मात्र कार्यालयमा दर्ता गर्ने एकद्वार प्रणाली विकास गर्न पहल गरिनेछ । सबै उद्योगी व्यवसायीको आफ्नो घरजग्गा हुँदैन । राज्यका निकायले दर्ता वा अन्य प्रयोजनमा लागि लालपूर्जा माग्ने गरिन्छ । जसका कारण प्यान नं. लिन वा अन्य काममा अवरोध भएको छ । उद्यमी व्यवसायीहरुलाई समस्या पारिरहेको छ । यस्तो कार्य निरुत्साहित गर्न सम्बद्ध कार्यालयसँग सहजीकरण गरिनेछ ।
सभागृह र प्रदर्शनी स्थल
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष स्व.दामोदर आचार्यको कार्यकालमा संघले बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल निर्माणका लागि नेपालगञ्जको कारकाँदोस्थित सडक विभागको १० बिघा जग्गाको भोगाधिकार प्राप्त गरेको थियो । सरकारले भोगाधिकारमा रहेको जग्गालाई लिज लैजाने व्यवस्था गर्दा संघको भोगाधिकार खोसिएको छ । नेपाल सरकारसँग पूरानो सम्झौता कार्यान्वयनको लागि कानुनी उपचारको बाटो खोजिनेछ । त्यसको विकल्पमा सहरको उपयुक्त स्थानबारे सम्भाव्यता अध्ययन गरिनेछ ।
सुधार जडिबुटी व्यवसायमा
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित जडिबुटी अहिले नेपालगञ्जमा संकलन गरेर कच्चा पदार्थको रुपमा भारत लगायत विदेशमा निर्यात भइरहेको छ । जडिबुुटीलाई प्रशोधन गरेर निर्यात गर्ने व्यवस्था र औषधि उद्योग स्थापना गर्न राज्यका निकायमा दवाब दिइनेछ । साथै, सरकारको अव्यवहारिक नीतिका कारण हुने असहज परिस्थितिलाई समाधान गर्न पहल गरिनेछ ।
समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन
बाँके जिल्ला पश्चिमको आर्थिक हब नै हो । नेपालगञ्ज औद्योगिक क्षेत्र, निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र, प्रस्तावित विशेष आर्थिक क्षेत्र, सञ्चालनको तयारीमा रहको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)ले आर्थिक विकासका सम्भावनाको ढोका खोल्नेछ । आगामी दिनमा प्रसस्त सम्भावना रहेको छ । देश विदेशका लगानीकर्ता बाँकेमा आकर्षित गर्न स्पष्ट योजनासहित ‘लगानी सम्मेलन’को आयोजना गरिनेछ । लगानी सम्मेलनले बाँकेमा औद्योगिक र व्यवसायिक प्रतिष्ठानमा लगानी गर्न राज्य, स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताका लागि मार्ग प्रसस्त गर्नेछ ।
सक्षम पर्यटकीय क्षेत्र
बाँके लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय ‘गेट वे’ हो । यहाँ वेष्टर्न ट्राभल मार्ट नियमित भइरहेको छ । बाँकेमा पर्यटन उद्योगमा ठूलो लगानी पनि भित्रिएको छ । दुई वटा फाइभ स्टार होटलसहित दर्जन बढी स्टार होटल खुलेका छन् । स्टार होटलमा आधा दर्जनभन्दा बढी क्यासिनो छन् । जिल्लामा चार वटा फनपार्क, आधा दर्जन होमस्टे खुलेका छन् । बाँके राष्ट्रिय निकुञ्ज बाघ अवलोकन र पर्यापर्यटनको थलोको रुपमा विकास हुँदैछ । निकुञ्जमा हात्ती र जीप सफारी गर्न पाइन्छ । शक्तिपीठ बागेश्वरी मन्दिरमा नियमित महाआरती सुरु भएको छ । जिल्लाका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, गुरुद्वारा पनि पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यहाँ थुप्रैै ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्य छन् । बर्फानी बाबा, सन्तानेश्वर, गोबद्र्धनधाम, विभिन्न मजारको प्रचार प्रचार र त्यहाँ भौतिक पूर्वाधार विकास गर्न पहल गरिनेछ । राज्यको व्यवसायी मैत्री नीति नभएकाले यी पर्यटकीय क्षेत्रको भविष्य अनिश्चित छ । पर्यटन क्षेत्रमा आशा जगाएर पर्यटन व्यवसायीलाई उत्साहित गराउन संघको तर्फबाट प्रभावकारी काम गरिनेछ । जमुनाहा–हिल्सा सडक सञ्जालले भारतीय–चिनियाँ पर्यटकलाई बाँकेमा भित्र्याउन पहल गरिनेछ ।
सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान
चीनको कैलाश मानसरोवर जाने यात्रीले नेपालगञ्जको रुटलाई पर्यटकीय गन्तव्य बनाएका छन् । त्यसका लागि नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिनेछ । निकै ढिलो भयो । सुरु गरौं, नेपालगञ्ज–दिल्लीलगायत अन्य सहरमा हवाइ सेवा भनेर राज्यलाई झकझकाउने काम संघले गर्नेछ । नेपालगञ्ज विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा पूर्वाधार विकास गर्न पनि राज्यलाई दवाब दिइनेछ । त्यसैगरी नेपालगञ्जबाट पहाडी जिल्लामा हुने उडानलाई चार्टरको सट्टा नियमित उडान गराउन पनि राज्यका निकायमा पहल गरिनेछ ।
सडक किनार ः स्थानीय परिकार
ठेलामा व्यापार गर्ने नेपालगञ्जको परम्परागत चलन हो । नेपालगञ्जको त्रिभुवन चोक लगायतका स्थानमा अहिले पनि परम्परागत स्वादका परिकारहरुलाई बिहान र साँझ सडक पेटीमा ठेलामा बेचिन्छ । पछिल्लो समय हाइमास्क लाइटले नेपालगञ्ज उज्यालो सहरको रुपमा परिचित हुँदैछ । त्यसैले पनि स्थानीय परिकारहरु रावडी, चाट, हलुवा पराठा, खसीको सेकुवा, बिर्यानीलाई स्ट्रिट मार्केटको रुपमा विकास गरेर नेपालगञ्जको पहिचानलाई जोगाउन जरुरी छ । स्ट्रिट मार्केट राति अबेरसम्म सञ्चालन गर्न सके नेपालगञ्ज गुल्जार हुनेछ । यसका लागि संघले स्थानीय तह, पर्यटनकर्मी लगायतका सरोकारवालासँग समन्वय र सहकार्य गर्ने पहलकदमी लिनेछ ।
सबल सीमा नाका
पश्चिमकै ठूलो भन्सार नाका नेपालगञ्जको जमुनाहामा छ । सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार सञ्चालन हुन सकेका छैनन् । खुला सीमा नाकाका कारण वैधानिक बाटोभन्दा अवैध आयात निर्यातले लक्ष्यभन्दा धेरै कम राजस्व संकलनबाट राष्ट्रिय अर्थतन्त्रमा घाटा भएको छ । स्वदेशी उद्योगी व्यवसायी पनि मारमा छन् । बाँकेको व्यापार, व्यवसाय चौपट भएको छ । स्वदेशी उत्पादनहरु फस्टाउन सकेका छैनन् । स्वदेशी उत्पादकले अवैध रुपमा भित्रिएका सामानसँग प्रतिष्पर्धा गर्न सकिरहेका छैनन् । साना ठूला उद्योगहरु धरासायी बन्दै गइरहेका छन् । सरकारलाई दैनिक लाखौं रुपैयाँ घाटा भइरहेको छ । सीमापारी सस्तो सामान पाइन्छ कि भन्ने लोभले उपभोक्तालाई गुणस्तरहीन खाद्यवस्तुबाट स्वास्थ्यमा हानी भइरहेको छ । उपभोक्तालाई सीमापारी जानबाट रोक्न सकिएको छैन । सीमासँग सम्बन्धित सबै मुद्दाको नीतिगत रुपमा समाधान गर्न राज्यका विभिन्न निकायसँग परामर्श गरी प्रभावकारी पहल गर्नेछौं ।
समन्वय आयात–निर्यात
भन्सारको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीलाई आयात–निर्यातमा व्यवधान भइरहेको छ । आयात–निर्यातमा सहजीकरण गर्न संघले पहल गर्नेछ । कानुनी जटिलता भए सच्चाउन राज्यलाई दवाब दिनेछ ।
सर्वसुलभ बंैकिङ प्रणाली
राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा उद्योगी व्यवसायी भए पनि सरकारकोे व्यवसायिक क्षेत्रलाई उकास्ने नीति छैन । बैंक तथा वित्तीय संस्थाको परिवर्तित नीतिका कारण उद्योगी व्यवसायी मारमा पर्ने गरेका छन् । संघले राज्यलाई झकझकाउन अव्यवहारिक बैंकिङ नीतिविरुद्ध आन्दोलन गर्ने गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण पनि गर्ने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघले गरेको आन्दोलनका कारण देशभरका उद्योगी व्यवसायी आन्दोलित भएर सरकारलाई घुँडा टेक्न बाध्य बनाएको इतिहास छ । यस्तो आन्दोलनको नेतृत्व संघले फेरि पनि गरिरहनेछ । अस्थिर ब्याजदरको दीगो समस्या समाधान गर्न संघले निरन्तर पहल गर्नेछ । राष्ट्र बैंकलाई उद्योगी व्यवसायी मैत्री मौद्रिक नीति बनाउन दवाब दिइनेछ ।
सहजीकरण कर शिक्षामा
उद्योगी व्यवसायी त्यसमा पनि साना तथा मध्यम खालका उद्योगी व्यवसायी करको सामान्य जानकारी नभएका कारण पनि समस्यामा पर्ने गरेका छन् । कर शिक्षाको अभावमा उद्योगी व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भन्सार कार्यालय, स्थानीय तह जस्ता नियमनकारी निकायबाट बेला बेलामा दुःख दिने काम भएको छ । सदस्यहरुलाई नियमित रुपमा करदाता शिक्षा र कर सम्बन्धी व्यवस्थाबारे संघले अभिमुखीकरण गर्नेछ । कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइनेछ ।
सरकारलाई प्रश्न हाम्रो कर किन ?
उद्योगी व्यवसायीले तीन तहकैै विभिन्न निकायमा कर तिरिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय लगायतका कर तिर्ने निकायसँग संघले उद्योगी, व्यवसायीले तिरेको करको प्रतिफल लिने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछ ।
सञ्चारसँग सहकार्य
२१औं शताब्दी सूचना प्रविधिको युग हो । आमसञ्चार माध्यमको सहयोगमा नै उद्योगी, व्यवसायीका एजेण्डा र समस्या समाधानका लागि राज्यलाई दवाब दिन सकिन्छ । संघले आमसञ्चार माध्यम र पत्रकारसँग सहकार्य गर्नेछ ।
र अन्त्यमा...
उल्लेखित प्रतिबद्धताहरु कार्यान्वयन र उद्योगी व्यवसायीबीचको एकता कायम गर्न समावेशी प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । त्यसैले समावेशी प्यानलका सम्पूर्ण उम्मेदवारलाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउन अनुरोध गर्र्दछौं । साथै, यस प्यानललाई सहयोग गरिदिन आमउद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवा एवं समस्त बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरुमा पनि हार्दिक अपिल गर्दछौं ।