काठमाडौं । गृहमन्त्री सुदन गुरुङले क्षेत्राधिकार मिचेर जथाभावी काम गरेको भन्ने चर्चा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उनको कार्यशैली मूल्यांकन गर्ने समय अझै नभइसकेको बताएका छन्।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “मूल्यांकन गर्ने बेला भइसकेको छैन, भर्खरै त काम सुरु भएको छ।”
सडक, इन्जिनियरिङ तथा ठेक्कापट्टासम्बन्धी विषय प्राविधिक भएकाले आफूलाई विस्तृत जानकारी नभएको उनले बताए। “केही कम्युनिकेसनको समस्या भएको हुन सक्छ। मलाई विस्तृत तथ्य थाहा छैन। तथ्य नबुझी यसै हो भन्न सक्दिनँ,” उनले भने।
रास्वपाको सचिवालय बैठकले तय गरेका एजेन्डा सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ। आइतबारको बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णयसमेत गरेको छ।
साथै, प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरिएको छ।