बाँके । पत्रकार आशिष मल्ल ठकुरीमाथि शनिबार नेपालगञ्जमा भएको सांघातिक आक्रमणको २४ घण्टा बितिसक्दा पनि आक्रमणकारी पक्राउ पर्न सकेका छैनन् । घटनास्थलको सिसिटिभी फुटेजमा आक्रमणकारीको गतिविधि र फरार भएको दृश्य कैद हुँदासमेत प्रहरीले दोषीलाई नियन्त्रणमा लिन नसक्नुले बाँकेको शान्ति सुरक्षा र प्रहरी अनुसन्धानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
शनिबार साँझ करिब ५ बजेर २० मिनेटमा नेपालगन्ज उपमहानगरपालिका–१० स्थित औद्योगिक क्षेत्रमा रहेको लाहुरे रेस्टुरेन्टमा कफी पिइरहेका पत्रकार मल्लमाथि योजनाबद्ध शैलीमा आक्रमण भएको थियो । रेस्टुरेन्टभित्र एक्लै छिरेका कालो पहिरनधारी अपरिचित व्यक्तिले हकी स्टिकजस्तो देखिने वस्तुले उनको टाउकोमा एक्कासि निर्मम प्रहार गरेका थिए ।
आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेर रक्ताम्य भएका मल्ललाई तत्काल उद्धार गरी नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेज पुर्याइएको थियो । उपचारका क्रममा उनको टाउकोमा २२ वटा टाँका लगाइएको छ ।
घटनास्थल आसपासको सिसिटिभी फुटेजमा आक्रमणकारी मोटरसाइकलमा आएको र आक्रमणपछि फरार भएको दृश्य देखिएको छ । फुटेजअनुसार एक व्यक्तिले रेस्टुरेन्टभन्दा केही पर मोटरसाइकल तयारी अवस्थामा राखेका थिए भने कालो पहिरनमा रहेका अर्का व्यक्ति रेस्टुरेन्टभित्र प्रवेश गरी आक्रमणपछि दौडिँदै फर्किएका थिए । त्यसपछि दुवै जना सोही मोटरसाइकलमा पश्चिम दिशातर्फ फरार भएको देखिन्छ ।
घटनाको प्रकृति र सिसिटिभीमा कैद भएका दृश्यले आक्रमण योजनाबद्ध हुन सक्ने आशंका बलियो बनाएको छ । तर, यति गम्भीर घटनामा २४ घण्टा बित्दासमेत प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न नसक्नुले अनुसन्धानको गति र प्रहरीको सक्रियतामाथि स्वाभाविक रूपमा प्रश्न उठेको छ ।
अस्पतालको शय्याबाटै घाइते पत्रकार मल्लले सिसिटिभी फुटेजमा आक्रमणकारीको हुलिया र भागेको दिशा प्रस्ट देखिँदासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । घटनाको निष्पक्ष अनुसन्धान गरी आफूलाई न्याय दिलाउन उनले प्रहरी प्रशासनसँग माग गरेका छन् ।
नेपालगन्जको व्यस्त र सर्वसाधारणको बाक्लो आवतजावत हुने क्षेत्रमा यसरी योजनाबद्ध शैलीमा पत्रकारमाथि आक्रमण हुनु सामान्य आपराधिक घटना मात्र होइन, जिल्लाको सुरक्षा व्यवस्थाका लागि गम्भीर चुनौती हो । सार्वजनिक स्थानमै निर्धक्क प्रवेश गरी आक्रमण गरेर सहजै फरार हुन सक्ने अवस्था रहनुले सर्वसाधारणको सुरक्षामाथि समेत चिन्ता बढाएको छ ।
पत्रकारमाथिको आक्रमण कुनै व्यक्तिमाथिको शारीरिक हिंसामा मात्र सीमित हुँदैन । यसले स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथि समेत प्रत्यक्ष असर पार्छ । पत्रकारलाई नै सार्वजनिक स्थानमा असुरक्षित बनाउने यस्ता घटनाले समाजमा भय र त्रासको वातावरण सिर्जना गर्न सक्छन् ।
घटनापछि प्रहरी प्रशासनले अनुसन्धान भइरहेको जनाए पनि अनुसन्धानको प्रगति, आक्रमणकारीको पहिचान र पक्राउका विषयमा स्पष्ट जानकारी सार्वजनिक हुन सकेको छैन । अनुसन्धानको नाममा अनिश्चितकालसम्म मौन बस्ने होइन, परिणाम देखिने गरी प्रहरी प्रशासनले आफ्नो सक्रियता प्रमाणित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सरोकारवालाहरूले घटनालाई गम्भीरतापूर्वक लिएर आक्रमणमा संलग्न व्यक्तिको तत्काल पहिचान तथा पक्राउ, आक्रमणको कारण र योजनाकारको खोजी तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
पत्रकारमाथि आक्रमण गर्नेहरूलाई समयमै कानुनी कठघरामा उभ्याउन नसकिए दण्डहीनताले प्रश्रय पाउने र यस्ता घटनामा संलग्न हुनेहरूको मनोबल बढ्ने खतरा रहन्छ । त्यसैले बाँके प्रहरी प्रशासनले अनुसन्धान भइरहेको छ भन्ने औपचारिक जवाफमा मात्र सीमित नभई दोषी पक्राउ गरेर देखाउनुपर्ने दबाब बढेको छ ।
अब प्रश्न केवल आशिष मल्लमाथि आक्रमण गर्ने को हुन् भन्ने मात्र होइन, सिसिटिभीमा सुराक देखिँदासमेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई किन कठिन भइरहेको छ भन्ने पनि हो । पत्रकारमाथिको आक्रमणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही नै प्रहरी प्रशासनको जवाफदेहिताको पहिलो परीक्षा बनेको छ ।