लमजुङ । नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद रहेकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूलाई जनताकाे पक्षमा काम गर्न निर्देशन दिएको बताएकी छिन् ।
लमजुङमा मतदातालाई धन्यवाद तथा कार्यकर्ता भेटघाटमा बाेल्दै उनले साे जानकारी दिएकी हुन् ।
उनका अनुसार विगतमा भन्दा फरक र प्रभावकारी ढंगले काम गर्न र संसदमा भुमिका निर्वाह गर्न प्रचण्डको निर्देशन रहेकाे छ । पार्टीको सुन्दरबजार नगर कमिटीले आयाेजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले भनिन् अब हामीले फरक ढंगबाट काम गर्न नसक्दा हुँदैन । उनलाई नगर अध्यक्ष मुरारी भुजेलसहितका कार्यकर्ताले बधाई र शुभकामना दिँदै जनतासँग निरन्तर जाेडिन सुझाव दिएका थिए । उनले सबैलाई धन्यवाद दिँदै आफू काभ्रेको विकट गाउँमा जन्मेको भएतापनि कर्मथलाे लमजुङको विकास र समृद्धिमा लाग्ने प्रतिवद्वता व्यक्त गरेकी थिइन् । उनले आफु सांसद भएपछि सबैकाे साझा जनप्रतिनिधि भएकोले जनताका समस्याहरू समाधानको लागि पहल गर्ने बताइन् ।