काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले सांसद राजेन्द्रसिंह रावल जेनजी प्रदर्शन छानबिनका लागि गठित जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीमाथि खनिएका छन् ।
बिहीबार कञ्चनपुरमा जेनजी आन्दोलनपछि भएको तोडफोड लगायतको घटनाबारे अनुगमन गर्न पुगेका भण्डारीमाथि रावल आक्रोशित भएका हुन् । कञ्चनपुरका विभिन्न भवनहरूको निरीक्षण पश्चात् भण्डारी भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय छलफलमा सहभागी हुन पुगेका थिए । छलफल सुरु हुनै लाग्दा पूर्वमुख्यमन्त्री रावल त्यहाँ पुगेका थिए ।
रावल ‘अपराधिहरुलाई लुकाएर ठुला कुरा गर्ने’ भन्दै भण्डारीमाथि खनिएका थिए । रावलले आक्रोशित हुँदै भने,‘मेरा बालबच्चाहरूको के हालत भएको थियो, देख्नुभएको थियो रु अहिले नाटक देखाउन आउने ?’ भण्डारीको नजिकै पुगेका रावललाई सुरक्षाकर्मीहरूले छेकेका थिए ।
‘मेरो पार्टी कार्यालय भवन आगो लाग्दाखेरि के तपाईँ अहिले तमासा देखाउन आउनु भएको ? राज्यको तर्फबाट नाटक देखाउन आउने ?’ रावलले आक्रोशित हुँदै भने ।