बाँके । घरमै नाति नतिनाहरु संग बस्ने र कहिले काहि नशा मर्केकाहरुको मालिस गर्ने काम गर्ने गर्थिन जयपत्रा कोरी । राजनिति के हो र कसरी गर्नु पर्छ भन्ने बारेमा जयपत्रालाई कुनै जानकारी थिएन् । उनी भन्छिन मधेशका गाउँमा घुम्टो ओढ्ने बुहारीहरू वडा सदस्य बने भने नातामा जेठाजु, ससुरा आदि पर्ने सेवाग्राही र जनप्रतिनिधिसँग आँखा जुधाएर कुरा गर्न समेत कठिन हुने भएकोले स्थानीय चुनाबमा सहभागि नहुने बताए पनि राप्रपाका नेता सफिक बेहना लगायत स्थानीयहरुको दबाबले बाध्य भएर चुनाबमा सहभागिता जनाउन पुगे । प्रौढ शिक्षा मात्र पढेकोले म चुनाब जित्दैन भन्ने सोचेको थिए तर मत परिणम सार्वजानिक हुदाँ राम्रो मत पाएर चुनाब जिते ।
स्थानीय चुनाब नजिक्दै गर्दा टोलमा राजनीतिक कार्यकर्ताको चहलपहल बढ्दै थियो । एकदिन जयपत्रालाई राप्रपा कार्यकर्ताले घरमा आए । घरमा आएका राप्रपाका कार्यकर्ताले जयपत्रालाई सदस्यता दिए, कार्यकर्ता बनिन् ।‘कसलाई कुन पदमा राख्ने भनेर सल्लाह भयो, मलाई सदस्यमा राखे,’ उनले भनिन्।
पार्टी राजनीतिमा यसरी जोडिएकी जयपत्रा कोरी टोल कमिटीकी सदस्य बनीन । स्थानीय निर्वाचन हुने भएपछि दलहरू ’जित्ने’ उम्मेदवार खोजीमा लागे । प्रत्येक वडामा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने प्रावधान अनुसार राप्रपाले जयपत्रालाई नेपालगंज–४ बाट उम्मेदवार उठायो ।
पार्टीले उम्मेदवार उठाउँदासम्म जयपत्रालाई यसबारे थाहै थिएन । निर्वाचनमा राप्रपाका हामी पाँच जना उम्मेदवार निर्वाचित भयो । दलित महिला सदस्यका रूपमा निर्वाचित ७४ वर्षीय जयपत्रा कोरी भने अहिले कार्यवाहक वडाध्यक्ष छिन् । वडाध्यक्ष मोहम्मद सफिक बेहना निर्वाचित भएको ४ वर्ष पछि जयपत्रालाई कार्यवाहक वडाध्यक्ष बनाएका हुन् ।
राप्रपाको महाधिबेशनका लागि वडा अध्यक्ष सहित २ जना वडा सदस्य पनि काठमाडौ जानु पर्ने भएकोले वडाध्यक्षले आफूलाई कार्यवाहक सुम्पिएको उनी बताउँछिन् ।
स्थानीय तह निर्वाचन भएको साढे चार वर्ष पुगिसक्यो, अर्को वर्ष फेरि निर्वाचन आउँदैछ । मोहम्मद सफिक बेहनाले यो चार वर्षमा पटक–पटक गरी सबै सदस्यहरुलाई कार्यवाहक वडाध्यक्षका रूपमा काम गर्ने जिम्मेवार सक्नु भएको छ ।
नेपालगंज ४ मा सबभन्दा धरै खट्ने वडा सदस्य मध्ये कार्यवाहक वडाध्यक्ष जयपत्रा कोरी नै अगाडि रहेको स्थानीयहरु बताउँछन् । जयपत्रा जनताको सेवामा दैनिक खटे पनि राप्रपाले निरक्षर भन्दै पार्टीको जिम्मेवारी तहमा राख्ने गरेको छैन् । उनी भन्छिन्, ‘म उमेरले बुढो भए, त्यो भएर पनि होला मलाई पार्टीको कुनै पनि कार्यक्रममा सहभागि गराउने गरिएको छैन् । आफनै पार्टीको वडा अध्यक्ष भएकोले मलाई जनताको काम गर्न समस्या भएको छैन् । वडा अध्यक्षको साथ पाएको छु । नेपालगंजको २३ वडा मध्य मेरो वडा अध्यक्ष जस्तो मनकारी कोई पनि छैन् ।’ कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाए पछि जयपत्रा १० बजे देखि ४ बजे सम्म वडा कार्यालयमा बसेर नागरिकताको सिफारीश देखि लिएर ४ किल्ला प्रमाणितका लागि सिफारीश गर्दै आउनु भएको छ । कार्यवाहक वडा अध्यक्ष जयपत्रा कोरीलाई काम गर्न समस्या नहोस् भनेर कर्मचारीहरुले समेत समयमा सल्लाह दिदै आएका छन् ।
कार्यवाहकमा उपेक्षा
स्थानीय सरकार सञ्चालन ऐनमा वडाध्यक्ष सात दिनभन्दा बढी अनुपस्थित हुने भएमा दैनिक कामकाज सञ्चालनका लागि सम्बन्धित वडा समितिका कुनै पनि सदस्यलाई जिम्मेवारी तोकी त्यसको जानकारी गाउँपालिका वा नगरपालिका प्रमुखलाई दिनुपर्ने व्यवस्था छ । प्रायः ज्येष्ठ र पुरुष सदस्यलाई नै यस्तो जिम्मेवारी दिइन्छ । नेपालगंज ४ का वडहा अध्यक्ष मोहम्मद सफिक बेहना भन्नुहुन्छ,“कतिपय ठाउँमा महिला सदस्यले कार्यवाहकको जिम्मेवारी पाए पनि नेपालगंज ४ बाहेक दलित महिलालाई त्यो जिम्मेवारी दिइएकै छैन भने हुन्छ । कथित उपल्लो जातकाले मात्र राज गर्ने ठाउँ नेपालगंज ४ होईन । ।” उहाँले भन्नु भयो सबै वडा सदस्य कार्यवाहक भएर बस्न जरुरी भएकोले समय समयमा कार्यवाहकको जिम्मेवारी सदस्यहरुलाई दिदै आएको सुनाए ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा १८ (३) मा वडा समिति वा वडाध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ । ऐनले स्थानीय कार्यपालिकाको कार्यविभाजन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने स्पष्ट गरेको छ । जसमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्छ ।
ऐनको दफा १६ (ग) ले वडाध्यक्षको काम, कर्तव्य र अधिकार तोकेको छ, जसअन्तर्गत वडा समितिका सदस्यहरूको समन्वय र सहजीकरण गर्ने समेत उल्लेख छ । कार्यपालिकाको नियमावली नबन्दासम्म वडाभित्रको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन, तथ्यांक अद्यावधिक तथा संरक्षण, विकास कार्य, नियमन कार्य, सिफारिश तथा प्रमाणित गर्ने लगायतका पाँच वटा बुँदामा समेटिएका ८० वटाभन्दा बढी काम गर्ने अधिकार वडासमितिलाई हुने ऐनमा उल्लेख छ ।
बाँकेका स्थानीय निकायहरुले वडा सदस्यहरुलाई कार्यवाहक दिन नसकि रहेको अवस्थामा नेपालगंज ४ ले दलित महिला सदस्यलाई कार्यवाहक दिएर नमून काम गरेको जानकारहरु बताउँछन् ।
अध्यक्ष बेहना भन्नुहुन्छ, “दलित महिलाको यो ऐतिहासिक प्रतिनिधित्वको सदुपयोग सबै स्थानीय निकायले गर्न जरुरी छ । उनीहरूलाई माइन्यूटमा सही गर्नमा मात्र सीमित गरिनुहुन्न ।” ।