बाँके । बाँकेको जानकी गाउँपालिका–५ मा आयोजित “अध्यक्ष कप क्रिकेट प्रतियोगिता” उत्साहजनक रूपमा सम्पन्न भएको छ। जानकी स्पोर्ट्स युवा क्लबको आयोजना तथा वडा नं. ५ को सहयोगमा सम्पन्न प्रतियोगितामा लेजेन्ट युवा क्लबलाई ५ विकेटले पराजित गर्दै बुढियागाँउ पठान पल्टनले उपाधि जितेको हो। लेजेन्ट युवा क्लब दोस्रो स्थानमा सीमित भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम बनेका टोलीका क्याप्टेन शेर खानलाई नगद ३२ हजार रुपैयाँसहित मेडल प्रदान गर्दै वडा अध्यक्ष टिका नाथ यादवले युवाहरूलाई खेल क्षेत्रमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “खेलले अनुशासन र आत्मविश्वास बढाउँछ, आउने दिनमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्नेछौं,” उहाँले भन्नुभयो।
वडा नं ६ का सदस्य अजमत अलिले खेलकुदले युवालाई सकारात्मक मार्गमा अघि बढाउने बताउनुभयो ।
कान्य आधारभूत विद्यालयकी प्रधानाध्यापक मालती शाहीले खेलकुद र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बिजय खेलाडी शेर खानले यस्ता प्रतियोगिताले खेलाडीलाई व्यावसायिक रूपमा अघि बढ्न प्रेरणा दिने बताउनुभयो । खेलमा ६ वटा समुहले भाग लिएका थिए ।