बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ प्रेम नगरस्थित रहेको सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल बाँकेमा एक मात्र यस्तो अस्पताल हो, जहाँ विनाऔषधि र विनाशल्यक्रिया खानपान र प्राकृतिक पद्धतिबाट मानिसहरूका विभिन्न प्रकारका रोगहरूको निवारण गरिन्छ ।
अस्पतालभित्र प्रवेश गर्नेबित्तिकै तपाईंलाई लाग्छ, म वास्तवमा सही ठाउँमा आइपुगेको छु । कर्मचारीहरूको शालीन र सरल व्यवहार, चिकित्सकहरूको अति नै बुझ्ने शैलीमा बिरामीहरूलाई दिइने सुझाव तथा सल्लाह आदिले तपाईंको केही रोग त यसै निराकरण भएको महसुस गर्न सक्नुहुन्छ । कोलपुरको प्रेम नगरमा अवस्थित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालले विगत ९ महिना देखि अनवरत रूपमा देश तथा विदेशका विभिन्न सहजदेखि जटिल प्रकृतिका बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारको २ करोड ४० लाख लगागतमा निर्माण गरिएको सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालमा यस वर्ष एक करोड थप बजेट आएको बताउदै अध्यक्ष पौडेलले भन्नुभयो, जस मध्य ७५ लाख भौतिक निर्माण र २५ लाख बराबरको समान खरिद गर्ने प्रक्रियामा रहेको छ । अध्यक्ष पौडेलले भौतिक संरचना र २ जना डाक्टरको दरबन्दी प्रदेश सरकारले गरिदिए अझ राम्रो हुने थियो ।
वास्तवमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल देश–विदेशमा बस्ने र लामो समयसम्म निरन्तर काम गरेर विश्राम चाहिरहेका या कुनै पनि रोगले सताएर दुःखपूर्ण जीवन बाँचिरहेका रोगीहरूकोे लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्छ, जहाँबाट मानिसहरूले नयाँ जीवन पाएर आफ्नो ठाउँ फर्किन सक्छन् । यहाँ सेवा प्राप्त गर्ने बिरामीहरू सेवा प्राप्त गरेपछि आफ्नो सन्तुष्टि विभिन्न हिसाबले जाहेर गर्ने गर्दा रहेछन् । धेरै मानिसहरूले विभिन्न किसिमले दान गर्ने गरेकोेले सेवाहरू अझ बढी सहज र सफल बन्दै गएको देख्न सकिन्छ ।
यो अस्पतालको कारणले स्थानीय मानिसहरूले सेवा त पाएका छन् नै साथसाथै ११ जना भन्दा बढी मानिसहरूले रोजगारी पनि पाएका छन् । स्थानीयस्तरमा आर्थिक गतिविधिहरू बढेको छ । स्थानीयको साथ सहयोगमा सामाजिक सेवा र जनचेतनाका कामहरू यो अस्पतालले स्थापनाकालदेखि नै गर्दै आइरहेको छ । अस्पतालबाट ९ महिनामा २ हजार जनाले सेवा लिएको अस्पतालका अध्यक्ष नवप्रसाद शर्मा पौडेलले बताउनु भयो ।
अस्पतालका डाक्टर मनिष कुमार पाठकले भन्नुभयो, “प्रायः तीन किसिमका मानिसहरू स्वास्थ्यलाभ गर्न आउने गरेको छन् । पहिलो खालका मानिसहरूमा किड्नीको डायलाइसिस गर्न आवश्यक ठानिएका रोगीहरू, प्रेसरको कारणले अंग नचल्ने अवस्थामा अर्थात् प्यारालाइसिस भएका बिरामीहरू, अप्रेसनबाहेक विकल्प छैन भनेर भनिएका नशा तथा हाडजोर्नीका बिरामीहरू साथै अन्य विविध गहिरो र जटिल प्रकृतिका रोग लागेका मानिसहरू उपचारका लागि आउने गरेका छन् ।”
डाक्टर पाठकले भन्नुभयो,“यहाँ अवलम्बन गरिएका प्राकृतिक उपचारका विधिहरूमा आहार नै औषधि, औषधि नै आहार मूलमन्त्र रहेछ । फलाहार, रसाहार र उपवास योग ध्यानसमेतमा अभ्यस्त गराउँदै नर्मल दुःखेका भागहरूको माटोपट्टी, आँखापट्टी, एनिमा, तातो तथा चिसो पानीमा खुट्टा डुबाउने, दुखेको भागमा तातो माटोले सेक्ने, हट हिप बाथ, लोकल स्टिम, स्टिम बाथ, सौना बाथ, पत्र पोटेली मसाज, भाइब्रो मसाज, शरीरको सम्पूर्ण अर्थात् तोकिएको भागको तेल वा पाउडर तथा सुक्खा मालिस, कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी, जल नेती, रबरनेती, सूत्रनेती, शरीरको सम्पूर्ण भागमा माटो लेपन, ठूलो आन्द्रा सफा गर्ने आदि केही महत्त्वपूर्ण विधिहरू हुन् ।”
उहाँले भन्नुभयो, प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने यस अस्पतालमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।
प्राकृतिक उपचारमार्फत् दुई सय जना भन्दा बढी स्वदेशी र विदेशी बिरामीलाई सेवा दिई सकेको अस्पतालले थप विकास र सेवा बिस्तारमा भने यतिबेला केन्द्र, प्रदेश र स्थानीय सरकारको साथ खोजेको डाक्टर पाठकको भनाई थियो ।
कोहलपुर १० बाट उपचार गराउन आएका सुदिप पौडेले आफ्नो अनुभव यसरी सुनाए, ‘यहाँको उपचार र खानपानले यो २७ दिनकोे अवधिमा मेरो स्वास्थ धेरै राम्रो भएको छ । मेरो नशाको समस्या थियो, हिड्डुल गर्न निकै समस्या थियो, धेरै ठाँउमा उपचार गराए तर ठिक भएन । हाल यहाँको उपचारपछि मेरो स्वास्थ्य राम्रो बन्दै आएको छ र यहाँ दिइएका ठोस खाने कुराहरू खाएर म सक्षम भएको छु । मलाई विश्वास छ यहाँको अनवरत उपचारले मेरो स्वास्थ्यमा धेरै सुधार आएको छ ।’ नरैनापुर गाँउपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, नरैनापुरका विपद शाखा प्रमुख भरत महतो, प्रेस सेन्टर नेपाल कोहलपुरका उपाध्यक्ष प्रमिला विश्वकर्मा लगायतले अस्पतालको अवलोकन गर्नु भएको थियो । अवलोकन पछि अस्पताल समितिका पदाधिकारीहरु संग कुरा गर्दै अध्यक्ष शाहले भन्नुभयो, यस्तै अस्पताल नरैनापुरमा समेत आवश्यक रहेकोले अस्पताल स्थापनाका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।
अस्पतालले बिरामीलाई आकाश, वायु, अग्नि, (सूर्यको किरण जल (पानी), पृथ्वी (माटो) आदि पञ्चतत्वको सहयोगको सहजता दिलाउन एवं खानपान र जीवनशैली परिवर्तनमा सहजीकरण गर्छन् । यो विधालाई मूलधारको चिकित्सा, हेल्थ टुरिजम र हेल्थ रिसोर्टको रूपमा बुझाउन सके अर्थतन्त्रमा रचनात्मक र सकारात्मक सूचकको बढोत्तरी हुने देखिन्छ ।’ यस्ता संस्थाहरू र अस्पतालको विकास हुन सके भविष्यमा हुन सक्ने जस्तोसुकै माहामारी र विपतका वेला सरकारलाई सहज र सहयोग पुग्ने देखिन्छ । नागरिकको स्वास्थ्यको जिम्मेवारीमा राज्य गम्भीर हुनुपर्दछ, स्वस्थ नागरिक राज्यको ठूलो पुँजी हो, नागरिक स्वस्थ भए मात्र राज्य सवल हुन्छ भन्ने मान्यता नीति निर्माताहरूले राख्नुपर्दछ ।