बाँके । बाँके स्थित जयेन्दु बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरूका लागि निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।
एडभोकेसी फोरम नेपालले जिल्ला बालन्याय समिति,बाँके जिल्ला अदालत र भेरी अस्पतालसंगको सहकार्यमा जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरेको हो ।
शिविरबाट २ सय ७० जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग बिशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पतालको टोलीले उपचार गरको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, फङ्गल इन्फेक्सन, किराको एलर्जी, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनस्र्थापना हुनु सहज हुने बताउनु भएको थियो ।
बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफुले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिनु भएको थियो ।