बाँके । कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित बाँकेको बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा २०३ जना किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर वितरण सुरु गरेको छ। गाउँपालिकाको महत्वाकांक्षी ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत सोमबारदेखि मिनी टिलर हस्तान्तरण कार्य थालिएको हो।
गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही तथा आर्थिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य फरिदुद्धिन हलवाईले किसानलाई मिनी टिलर हस्तान्तरण गरेका हुन्। पहिलो चरणमा बैजनाथ गाउँपालिका–१ र २ का ३३ जना किसानले मिनी टिलर बुझेका छन् भने अन्य वडाका किसानलाई पनि क्रमशः बोलाएर वितरण गरिने गाउँपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बैजनाथको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले विगत चार वर्षदेखि निरन्तर रूपमा ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ सञ्चालन गर्दै आएको बताए।
“दोस्रो कार्यकालका लागि जनतामाझ पुग्दा बैजनाथका करिब ७० प्रतिशत नागरिक कृषि तथा पशुपालनमा आबद्ध रहेको पायौं। त्यसैले कृषिलाई उत्पादनमुखी र आयआर्जनसँग जोड्न यो कार्यक्रम लागू गरेका हौं,” अध्यक्ष शाहीले भने।
उनले यस वर्ष कागजी प्रक्रिया तथा अन्य कारणले केही किसान मिनी टिलर वितरणबाट छुट्न गएको स्वीकार गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उनीहरूलाई पनि समेट्ने प्रतिबद्धता व्यक्त गरे। कृषिमा यान्त्रीकरणको विस्तारले किसानको श्रम, समय र लागत घटाउनुका साथै स्वरोजगार तथा जीविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गर्न किसानलाई आग्रह गरे।
कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले गरेका थिए। कृषि शाखाका नायव प्राविधिक सहायक सचिन मेघनाथ र अन्जु सिंह ठकुरीका अनुसार गाउँपालिकाले वडा नं. १ देखि ८ सम्मका किसानबाट आवेदन माग गर्दा २६४ जनाले फाराम भरेका थिए। ती आवेदनमार्फत कुल ५६६ वटा मिनी टिलरको माग परेको थियो।
आवेदनहरूको मूल्याङ्कन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि यस वर्ष २०३ जना किसान छनोट गरिएको गाउँपालिकाले जनाएको छ। एउटा मिनी टिलरको लागतमा किसानले ३० प्रतिशत अर्थात् २६ हजार ४ सय रुपैयाँ मात्र योगदान गर्नुपरेको छ भने बाँकी ७० प्रतिशत रकम गाउँपालिकाले अनुदानस्वरूप व्यहोरेको छ।
बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा किसानको आयस्तर उकास्ने उद्देश्यले हरेक वर्ष ५ देखि ७ करोड रुपैयाँ बजेट ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’का लागि विनियोजन गर्दै आएको छ। गाउँपालिकाको यो पहलले कृषिमा यान्त्रीकरण विस्तार गर्दै किसानलाई आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।