एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू
नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल
११ मंगशिर २०७८, शनिबार
चितवन । एमालेको जारी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल भएका छन् । ओलीले महाधिवेशनको बन्दसत्र स्थल सौराहको पार्क सफारीमा शनिबार बिहान आफू निकट नेताहरु नेता सुवास नेम्बाङलगायतसँग छलफल गरे पनि सहमति जुट्न नसकेको हो ।
नेतृत्वमा सहमतिका लागि छलफल भएको तर सहमति भने हुन सकेन । उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो । संसदीय दलका उपनेता नेम्वाङले सहमतिको प्रयास जारी रहेको बताए । तर ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलसँग भने कुराकानी गरेका छैनन् ।
पदाधिकारी बढाए पनि सहमतिको सम्भावना कम रहेको रावलले प्रतिक्रिया दिएका थिए। यसैबीच एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ। बिहान १० बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी सुरू भएको हो। प्रतिनिधिहरू बन्द सत्रको लागि लाइन लागेर बसेका छन्। एमाले अध्यक्ष ओली पनि बन्द सत्र हुने हलमा पुगेका छन् ।
बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्। त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय पनि अनुमोदन गर्नेछ। गएराति १ बजे सकिएको बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो। पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो।आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। बन्द सत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।