सोफियामा उत्सव, सिर्जना र सन्देशको संगम २१औं वार्षिकोत्सव र क्रिसमस कार्यक्रम सम्पन्न
७ पौष २०८२, सोमबार
बाँके ७ पुस । सोफिया रेसिडेन्सियल इङ्लिस स्कुल, नेपालगन्जको २१औं वार्षिक उत्सव तथा क्रिसमस कार्यक्रम उत्साह, सिर्जना र सामाजिक सन्देशले भरिपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ । 
सोमबार स्कुलकै आफ्नै खेल मैदानमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र अतिथिको उल्लेख्य सहभागिता रहेको स्कुल व्यवस्थापन समितिले जनाएको छ । राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा बालबालिकाको आत्मविश्वास, कला र सिर्जनात्मकताले मैदान नै रंगीन बनेको थियो ।
विगनर्सदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीले नाच, नाटक, गीतिनाटक र सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना प्रतिभा उजागर गरे । विद्यार्थीले प्रस्तुत गरेका नाटकहरूले बाल हिंसा, शिक्षाको महत्व, परिवारिक सम्बन्ध र बालबालिकाको भविष्य जस्ता गम्भीर सामाजिक विषयलाई जीवन्त रूपमा उतारेका थिए, जसले अभिभावकलाई भावुक बनायो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बालबालिकाको प्रस्तुति मनछुने रहेको बताउँदै अभिभावकलाई सन्देश दिनुभयो। उहाँले भन्नुभयो,
“तपाईंका छोराछोरी डाक्टर, इन्जिनियर त बन्लान्, तर आमाबुबालाई बृद्धाश्रममा छोड्ने सन्तान नबनून्। आज समय दिएर असल सन्तान बनायौँ भने भोलि सन्तानले पनि हामीलाई हेर्छन्।”
क्रिसमसको शुभकामना दिँदै राईले क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्ने धारणा राख्नुभयो। साथै, बाँकेमा सोफिया स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सफल भएको भन्दै भविष्यमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका अधिकृत उद्धव श्रेष्ठ लगायतले स्कुलको निरन्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिनुभयो। 
कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्रधानाध्यापक सुशिला बसेलले सम्हाल्नुभएको थियो। पद, आसन वा औपचारिकताभन्दा टाढा बसेलको ध्यान विद्यार्थीको प्रस्तुति, शिक्षक र बालबालिकाको उत्साहमै केन्द्रित देखिन्थ्यो।
कार्यक्रमको स्वागतदेखि सञ्चालनसम्म विद्यार्थी स्वयं सक्रिय थिए। बीच-बीचमा विद्यार्थीले नै मन्तव्य राख्ने अनौठो अभ्यासले अभिभावकलाई थप प्रभावित बनायो। 
कार्यक्रमको समापन गर्दै स्कुल विकास समितिका अध्यक्ष के.बी. बसेलले सुन्नेबाट सुरु भएको विद्यालयको यहाँसम्मको यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“स्कुल र अभिभावक मिलेर नानी–बाबुको भविष्य बनाउने हो। आउनुहोस्, हातेमालो गरेर भोलिको दक्ष जनशक्ति निर्माण गरौं।”
विद्यार्थीसँगै कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी शिक्षिका प्रतिमा बस्यालले कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग दाङ प्रमुख उपनिर्देशक ओम खड्का, पत्रकार झलक गैरे, निरज गौतम, शंकर खनाल, आलम खान, गजेन्द्र गुरुङ, सन्तोष विष्ट, दिपेन्द्र धिताल, सावित्री गिरि लगायतको उपस्थिति रहेको थियो । 