बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीका क्रममा ठाउँठाउँमा चुनाव प्रचार प्रसार कार्यालय खोल्न थालेको छ । यसैक्रममा राप्रपा बाँकेले नेपालगञ्जको बिभिन्न वडामा प्रचार कार्यालय स्थापना गरेको हो ।
राप्रपा घोसीटोल कमिटी–वडा नं.४ नेपालगञ्जले घोसीटोलमा प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरी चुनावी तयारीको काम सुरु गरेको छ । कार्यालयको राप्रपाका महामन्त्री एंव नेपालगञ्जका मेयर डाक्टर धवलशम्सेर राणाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै राणाले स्थानीय तह निर्वाचनमा विगतमा भन्दा धेरै स्थानीय तहमा विजय हासिल गर्ने रणनीतिका साथ पार्टी अगाडि बढेको बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै राप्रपा महिला संगठन कि अध्यक्ष इन्दिरा शाहीले अब जनताको घरदैलोमा गएर राप्रपाले नेपालगञ्जमा गरेका कामबारे जनतामा बुझाउनुपर्नेमा जोड दिएका थिए ।
राप्रपाका नेता एवं नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पार्टीले सबै टोलहरुमा चुनावी अभियानलाई अव तीव्र बनाउने बताए । उनले राप्रपा नेतृत्वको स्थानीय सरकारले गरेका लोकप्रिय कामलाई जनतामा लैजान पनि आग्रह गरे ।
कार्यक्रममा राप्रपाका सहमहामन्त्री ऋषि राज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।