बाँके । बाक्लो हुस्सु, शीतलहर र चिसो मौसमले जनजीवन प्रभावित भइरहेका बेला बाँकेको जानकी गाउँपालिका–५ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय, बनिया गाउँका बालबालिकाले न्यानोपनको अनुभूति गरेका छन् । विद्यालयमा अध्ययनरत १ सय ३० जना निम्न स्तरका बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले जुत्ता, स्विटर तथा स्टेशनरी सामग्री वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम यादवका अनुसार चिसोका कारण बालबालिकाको नियमित पठन–पाठनमा असर पर्न नदिन वडा कार्यालयको बजेटबाट आवश्यक सामग्रीको व्यवस्था गरिएको हो । “धेरैजसो बालबालिका आर्थिक रूपमा कमजोर परिवारका छन्, चिसोमा न्यानो कपडा नहुँदा विद्यालय आउनै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो।
सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले शिक्षा केवल किताबसम्म सीमित नहुने उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य र सुरक्षामा समेत स्थानीय सरकार संवेदनशील रहेको बताउनुभयो।
“बालबालिका सुरक्षित र न्यानो भए मात्रै सिकाइ प्रभावकारी हुन्छ। त्यसैले वडा कार्यालयले आफ्नै बजेटबाट यस्तो सहयोग गरेको हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा वडा सदस्य मोहम्मद सरिफ खानले विद्यालय तहबाटै सामाजिक असमानता घटाउने काम यस्ता कार्यक्रमले गर्ने बताउनुभयो। “गरिब र विपन्न बालबालिकालाई लक्षित गरेर गरिएको सहयोगले उनीहरूको आत्मविश्वास बढ्छ,” उहाँको भनाइ थियो।
त्यस्तै वडा सदस्य कान्ति काँदुले बालबालिकाको अनुहारमा देखिएको खुशी नै कार्यक्रमको सफलता भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयकी प्रधानाध्यापक रेखा धितालले चिसो मौसममा विद्यार्थीको उपस्थिति घट्ने समस्या रहेको बताउँदै यस किसिमको सहयोगले पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। “जुत्ता र स्विटर पाएपछि बालबालिका अझ उत्साहका साथ विद्यालय आउनेछन्,” उहाँले भन्नुभयो।
कक्षा ५ सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा अध्ययनरत अधिकांश बालबालिका श्रमिक, किसान तथा न्यून आय भएका परिवारका छन् । वडा कार्यालयको पहलमा गरिएको यो सामग्री वितरण कार्यक्रमले शिक्षा मात्र होइन, मानवीय संवेदनाको सन्देश पनि दिएको छ।
चिसो मौसममा न्यानो कपडासँगै शैक्षिक सामग्री पाएका बालबालिकाको अनुहारमा देखिएको मुस्कानले स्थानीय सरकारको सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश दिएको छ।