बाँके । बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टको राजनीति भाषणको चमक र नाराको कोलाहलमा सीमित छैन । उहाँको राजनीतिक यात्रा पीडाबाट सुरु हुन्छ—जेष्ठ नागरिकका काँपेका हात, आँखामा थुप्रिएको इतिहास र जेन–जी आन्दोलनका घाउ बोकेका शरीरहरूबाट ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका बिष्ट आज गाउँ–गाउँमा पुगेर जेष्ठ नागरिकका घर–आँगनमा बस्दै उनीहरूका दुःख, माग र अधूरा सपना सुन्दै हुनुहुन्छ । जीवनभर देशका लागि पसिना बगाएका बुवाआमाहरू आज राज्यको नजरबाट ओझेल परेका छन् भन्ने अनुभूति उहाँको चुनावी अभियानको केन्द्र बनेको छ।
“यी आवाज अब घरको चौतारीमै हराउने छैनन्,” बिष्टले भन्नुभयो, “म पहल गर्छु, यी पीडा संसदसम्मै पुर्याउने छु।”
जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, सम्मानजनक जीवन र राज्यको अपनत्व खोजिरहेका छन्। ती अपेक्षाहरू सुन्दा बिष्ट भावुक देखिनुहुन्छ। उहाँका लागि यो निर्वाचन जित–हारको प्रतिस्पर्धा होइन, उपेक्षित आवाजलाई न्याय दिलाउने जिम्मेवारी हो।
आफू जेन–जी आन्दोलनका सहिद तथा घाइतेहरूको सम्मानका लागि उम्मेदवारी दिएको बताउँदै बिष्टले स्पष्ट पार्नु भयो—“जो परिवर्तनका लागि ढले, जसले घाइते शरीर बोकेर पनि देश खोजिरहे, तिनको सम्मान बिना लोकतन्त्र अधुरो रहन्छ।” आन्दोलनका ती घाउहरू उहाँका भाषणमा होइन, आँखामा देखिन्छन्।
बिष्ट आफूलाई जेन–जी पुस्ताको प्रतिनिधि ठान्नुहुन्छ—प्रश्न गर्ने साहस बोकेको, अन्याय सहन नसक्ने र भविष्यप्रति आशावादी पुस्ताको आवाज संसदमा पुर्याउने संकल्प उहाँको छ।
“म नयाँ पुस्ताको मात्र होइन, पुरानो पुस्ताको अधूरो सपना बोकेर अघि बढेको हुँ,” उहाँ भन्नुहुन्छ।
गाउँ–गाउँमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै उहाँले मतदानको आग्रह गरिरहनुभएको छ। भाषणभन्दा संवाद, नाराभन्दा संवेदना उहाँको अभियानको पहिचान बनेको छ। कतिपय जेष्ठ नागरिकहरू उहाँको हात समाउँदै भन्छन्, “हाम्रो पीडा नबिर्स।” त्यो क्षण धेरैका आँखाबाट आशाका आँसु झर्छन्।
युवा नेता दिपेन्द्र बिष्टको उम्मेदवारी बाँके–२ मा सामान्य राजनीतिक प्रतिस्पर्धा बनेको छैन । यो उम्मेदवारी लाठी टेक्ने बुवाआमाको आँसु, जेन–जीका घाउ र भोलिको संसदसँग गाँसिएको कथा बनेको छ। बाँके–२ मा आज राजनीति होइन, मानवीय संवेदनाले मत मागिरहेको छ।