५ महिनामा ४ करोड ९० लाख बराबरको अवैध सामान बरामद
२ श्रावण २०८२, बिहीबार
बाँके १ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेड क्वार्टर बागेश्वरी बाँकेले ५ महिनामा करिब ४ करोड बरावरको अबैध सामान बरामद गरेको छ ।
चाड पर्व नजिकिए संगै अबैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले ५ महिनामा ४ करोड ९० लाख ९ हजार २८३ रुपैया बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेडक्वार्टर बागेश्वरीका गणपति प्रहरी उपरीक्षक शोभाकान्त खनालले बताउनु भयो ।
प्रहरी उपरीक्षक खनालका अनुसार चालु आर्थिक वर्षको असार महिनामा एक करोड ८ लाख १६ हजार ५ सय ५५ रुपैया बराबरको बरामद गरिएका अवैध सामग्रीहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बताउनु भयो ।
सिमाक्षेत्रमा हुने सबै किसिमका अवैध तस्करीलगायतका अन्य गतिविधिहरु रोकथाम तथा न्यूनीकरण गर्न त्यसका विरुद्ध सशस्त्र प्रहरीले सिमानाका क्षेत्रमा कडा निगरानी गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गणका सशस्त्र प्रहरी उपरीक्षक खनालले बाँके जिल्लाका सबै स्थानका सीमा नाकामा गएर अवलोकन गर्दै जिल्लामा रहेका ८ वटै बीओपीका कमान्डरहरुलाई सीमा नाकामा हुने हरेक गतिविधिमा नजर राख्न निर्देशन दिनु भएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खनालले सीमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करीविरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना कर्मचारीलाई निर्देशन जारी गर्नु भएको छ ।
सशस्त्र प्रहरी उपरीक्षकको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर बढैया गरी आठ वटै बीओपीहरु सीमा नाकामा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक खनाल आउनुअघि सीमा नाकामा सशस्त्र प्रहरीले कडाइ नगरेको भने होइन । तर खनाल आफैंमा कडा खालका सशस्त्र प्रहरी अधिकृत भएका कारण आफ्नो स्वभाव अनुरुप कार्य गर्न रुचाउने भएका कारण सशस्त्र प्रहरीले नाकामा झनै कडाई गर्दै नाकाबाट हुने तस्करी नियन्त्रण तथा राजस्व संकलन, अपराध निर्मुल पार्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
संगठनप्रति कर्तव्यनिष्ठ भएर लागि पर्ने सशस्त्र प्रहरी उपरीक्षक खनालले तस्करीप्रति कुनै सम्झौता नहुने बताउदै भन्नुभयो, तस्करहरु तस्करी गर्न नपाएर बेलाबखत सिमाना सशस्त्र प्रहरी संग झडप गरेर सशस्त्र प्रहरीलाई बदनाम गराउन खोज्ने गरेको उल्लेख गर्दै उहाँले आफ्ना मातहतका प्रहरीहरुलाई बिचलित नभई कानुन बमोजिम प्रस्तुत हुन आग्रह गर्नु भयो ।
उहाँले भन्नुभयो, सरोकारवाला अन्य निकायसँगको समन्वय र सहकार्यमा सीमानाकामा कडाइका साथ जाँच गर्ने, निगरानी बढाउने तथा अवैध क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन अपिल गर्नु भयो ।